श्री शिख माध्यमिक विद्यालय
नेपालको गण्डकी प्रदेश अन्तर्गत हिमाली जिल्ला म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, शिख गाउँमा अवस्थित श्री शिख माध्यमिक विद्यालय वि.सं. २०११ सालमा तत्कालीन शिक्षाप्रेमी अग्रजहरू तथा भूतपूर्व सैनिकका १६ जना सरदारहरूको विशेष पहल, योगदान र अथक प्रयासबाट स्थापना भएको गौरवशाली सामुदायिक विद्यालय हो। स्थापना कालदेखि नै यस विद्यालयले ग्रामीण तथा हिमाली क्षेत्रका बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्दै समाजको शैक्षिक, सामाजिक तथा सांस्कृतिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
हाल यस विद्यालयमा प्रारम्भिक बाल शिक्षा (ECD) देखि कक्षा १२ सम्म अध्ययन–अध्यापन सञ्चालन भइरहेको छ। विद्यालयले शिक्षालाई केवल सैद्धान्तिक ज्ञानमा सीमित नराखी समयसापेक्ष, वैज्ञानिक, प्रविधिमैत्री, व्यवहारिक तथा जीवनोपयोगी शिक्षामा विशेष जोड दिएको छ। गुणस्तरीय शिक्षामार्फत नैतिकवान, अनुशासित, सिर्जनशील, प्रतिस्पर्धी, आत्मनिर्भर, उत्पादनशील, रोजगारमुखी तथा जिम्मेवार नागरिक उत्पादन गर्नु विद्यालयको प्रमुख उद्देश्य हो।
विद्यालयमा प्रविधिमैत्री कक्षाकोठा, बालमैत्री तथा सिकाइ-अनुकूल वातावरण, पारिवारिक सम्बन्ध, अनुशासित तथा शान्त शैक्षिक परिवेश उपलब्ध रहेको छ। साथै आवश्यकताअनुसार नि:शुल्क आवासीय सुविधा समेत प्रदान गरिँदै आएको छ, जसले दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई सहज रूपमा अध्ययन गर्ने अवसर उपलब्ध गराएको छ।
यहाँ विद्यार्थीहरूको सिर्जनशीलता, प्रतिभा, क्षमता र विविधतालाई सम्मान गर्दै जीवनोपयोगी ज्ञान, व्यवहारिक सीप, नेतृत्व विकास, नैतिक शिक्षा तथा सूचना–प्रविधिमा आधारित सिकाइलाई प्राथमिकता दिइन्छ। नियमित शैक्षिक गतिविधिसँगै खेलकुद, सांस्कृतिक कार्यक्रम, विज्ञान प्रदर्शनी, साहित्यिक गतिविधि, सामाजिक सेवा तथा अन्य अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीहरूको सर्वाङ्गीण व्यक्तित्व विकासमा विशेष जोड दिइएको छ।
विद्यालयको निरन्तर प्रगति र सफलतामा समर्पित शिक्षक–शिक्षिका, विद्यालय व्यवस्थापन समिति, अभिभावक, पूर्वविद्यार्थी, स्थानीय समुदाय, शिक्षाप्रेमी, समाजसेवी तथा विभिन्न दानवीर महानुभावहरूको अमूल्य सहयोग, विश्वास र प्रतिबद्धताको महत्वपूर्ण भूमिका रहेको छ। आगामी दिनहरूमा पनि गुणस्तरीय, समावेशी, प्रविधिमैत्री तथा रोजगारमुखी शिक्षा प्रदान गर्दै राष्ट्र निर्माणका लागि सक्षम, जिम्मेवार र आदर्श नागरिक उत्पादन गर्ने हाम्रो प्रतिबद्धता निरन्तर रहनेछ।
"गुणस्तरीय शिक्षा, अनुशासित वातावरण र उज्ज्वल भविष्य" भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै श्री शिख माध्यमिक विद्यालय ज्ञान, सीप, संस्कार र चरित्र निर्माणको उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा निरन्तर अघि बढिरहेको छ।